Saturday, March 9, 2013

भूमिहिनद्वारा परिचयपत्र माग

अनुमोदन समाचार/चौमाला
फागुन, २७ गते 


 भूमिहिनहरूले आफूहरूलाई राज्यले भूमिहिनको परिचयपत्र दिनुपर्ने बताएका छन् ।
    शनिवार चौमाला–७, राजीपुरमा शुरु भएको राष्ट्रिय भुमि अधिकार मञ्चको तेस्रो जिल्ला सम्मेलनमा बोल्ने भूमिहिन (मुक्त कमैया, सुकुम्वासी, बाढीपीडित) हरूले सो माग राखेका हुन ।
    सरकारले भूमिहिनका मागलाई सम्वोधन गर्न छ वटा सुकुम्वासी आयोग बनाएपनि आफूहरूले परिचय पत्र समेत नपाएको उनीहरूको गुनासो छ ।
    टीकापुर एकता नगर मुक्त कमैया शिविरकी कोपिला सार्कीले राज्यले वास्तविक भूमिहिनको पहिचान गरेर परिचयपत्र बितरण गर्नुपर्ने बताइन । आफू २०६२ सालदेखि सो शिविरमा बस्दै आएको बताउँदै सार्कीले केहि राजनीतिक दलले भोटका लागि आफूहरूलाई जंगलमा बसाएको तर, अहिलेसम्म समस्या समाधान नभएको बताइन । उनले कुनै पनि राजनीतिक दल भूमिहिनका समस्या प्रति सकारात्मक नभएको बताइन ।
    खैलाडका पद्म राजीले राजनीतिकदलहरुले आफूहरुलाई चुनावका भोटर मात्र वनाएको बताए । उनले भोटका लागि आफूहरूकोे बस्तीमा आउने तर, अघिपछि समयमा हेर्ने पनि नआउने गरेको बताए ।
    गेटाकी तारा बिकले दलहरु घर दैलोमा आएर समय समयमा सुकुम्बासीहरुलाई परिचय पत्र दिन्छु भन्ने तर सुकुम्बासीका नाममा गैर भूमिहिनहरुलाई परिचय पत्र वितरण गर्ने खोजेको बताइन ।
राज्यले दलहरुले भूमिहिनहरुलाई जग्गा दिन्छु, भन्दै उक्साएर ढाँट्ने काम गरेको उनको आक्रोश थियो ।
    धनगढीका पूर्ण नेपालीले भूमिहिनहरूले कुनै दल संगठनको झण्डा समात्ने भन्दा पनि आफ्नो संगठनप्रति प्रतिबद्ध भएमा राम्रो हुने बताए । भूमिहिनहरुका बाबालिकाहरु ठाउँठाउँमा सर्नुपर्ने बाध्यता भएकाले कतिपय पढाईबाट समेत बञ्चित भएको नेपालीको भनाइ रहेको छ ।
    सम्मेलन उद्घाटन पूर्व चौमाला बजारबाट शुरु भएको प्ले कार्ड सहितको ¥याली चौमाला गाविस वडा नम्वर ७ स्थित राजीपुर शिविरमा पुगेको थियो ।     सम्मेलनको एक समारोहका बीच राजनितिक पार्टीका प्रतिनिधिहरुले गरेका थिए  ।
उद्घाटन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य भुन्टेरानाले भूमिहिनका समस्या प्रति राज्य गम्भिर नभएको आरोप लगाए ।
    उनले सरकारले वास्तवित भूमिहिनलाई  जमिन वितरण नगरेर हुकुमबासीलाई बितरण गरेको आरोप लगाए ।
भूमि अधिकार मञ्चका जिल्ला संयोजक जवालसिंह तिरुवाले मञ्चले हालसम्म गरेका उपलव्धीका बारेमा जानकारी गराएका थिए ।
     मञ्चका सहजकर्ता प्रेम विकले स्वागत गरेको कार्यक्रममा नेपाली काँगे्रसका टेकबहादुर रैका, नेकपा (एमाले) का कार्यवाहक अध्यक्ष हनुमान चौधरी, सद्भावना आनन्ददेवीका रामदेव शर्मा,राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव लक्षीराम आचार्य लगायतले मन्तव्य राखेका थिए । मञ्चका जिल्ला अध्यक्ष जनार्दन प्रसाद चौधरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विभिन्न सा“स्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
    अधिवेशनको बन्द सत्रले आज(आइतवार) १५ सदस्यीय नयाँ कार्य समिति समेत चयन गर्ने भूमिअधिकार मञ्च कैलालीले जनाएको छ । निर्विरोध चयन नभएमा ८२ जनाले भोट खसाल्ने जनाइएको छ ।

४४ हजार भूमिहिन 
कैलालीमा अझै ४४ हजार एक सय ६३ जना भूमिहीन रहेको भूमि अधिकार मञ्च कैलालीले जनाएको छ ।
    जसमध्ये कैलालीको मुनुवा गाविसका पाँच सय ७५ जनालाई सुकुम्वासीलाई राज्यले परिचयपत्र वितरण गरिसकेको जनाएको छ ।

मञ्चका अनुसार जिल्लाको चौमाला,मसुरिया, भजनी,खैलाड, पहलमानपुर लगायतका गाविसमा बाढीपीडित, हलिया, मुक्तकमैया, सुकम्वासी बढी रहेका छन् । जिल्लाको पहाडी गाविस सहजपुर, खैराला, पण्डौन लगायतका गाविसमा सुकम्वासीको संख्या कम रहेको मञ्चले जनाएको छ ।
    कैलाली कञ्चनपुरमा परिचयपत्र नपाएका बाँकी सुकम्वासीलाई चैतसम्म सुकम्वासी आयोगले परियपत्र वितरण गर्ने जनाएको छ । कञ्चनपुरमा भने अझै २२ हजार भूमिहीन सुकम्वासी रहेका छन् ।


No comments:

Post a Comment